Social Icons

Monday, September 9, 2013

३६ वर्षीया निरुताको लगन किन जुरेन?...


३६ वर्षीया निरुताको लगन किन जुरेन?...

काठमाडौं- लामो अन्तरालपछि काठमाडौंमा आएकी अभिनेत्री निरुता सिंहले सुरुमै बिहेको प्रश्नको सामना गर्नुपर्‍यो। बिहे गर्ने उमेर भइसकेको उनी स्विकार्छिन्। तैपनि भन्छिन्, 'फिल्ममा धेरैसँग बिहे भए पनि यथार्थमा चाहिँ लगन जुर्नुपर्ने रहेछ।'

भारतको सिलिगुडीमा बसोबास गर्दै आएकी निरुता एउटा अवार्ड कार्यक्रमको प्रस्तुतिका लागि शनिबार मात्र काठमाडौं झरेकी हुन्। सन् १९९४ मा रिलिज भएको 'दक्षिणा'बाट अभिनय थालेकी उनी फिल्मका अफर आइरहँदारहँदै पलायन भएकी थिइन्। बीचको समय मुम्बईमा इन्टेरियर डिजाइनिङको कोर्स गरिरहेको समाचार आए पनि निरुता स्वयंले भने अहिले आफ्नो बसाइँ सिलुगडीमा रहेको जानकारी गराइन्।

३६ वर्षीया निरुता पारिवारिक जिम्मेवारी थपिएकाले काठमाडौंमा बस्न नपाएको प्रतिक्रिया दिन्छिन्। उनले भाइको पढाइँको सिलसिलामा मुम्बई रहनु परेको कारणले फिल्मतिर कम ध्यान दिएको पनि बताइन्।

फिल्मबाट टाढा भए पनि उनी चाँडै फिर्ता हुँदैछिन्, त्यो पनि अभिनय होइन निर्देशनबाटै। मुम्बईमा बस्दा निर्देशनसम्बन्धी काम गर्ने गरेको उनी दाबी गर्छिन्। 'फिल्म खेल्ने अफर आइरहेकै हुन्छन्। तर अहिलेलाई अभिनय गर्ने मन छैन,' निरुताले भनिन्।

'नयाँ काम गर्ने सोचले केही समय मुम्बईमा बसेकी हुँ। निर्देशन सम्बन्धी अनुभव पनि बटुल्ने अवसरहरु पाइरहेकी छु,' निरुताले मुम्बई बस्दाका उपलब्धिहरुका बारेमा बताइन्। भद्र भुजेलको निर्देशनमा बनेको 'मलाई मन पर्‍यो' फिल्म सिध्याएपछि उनले नेपाली फिल्ममा काम गरेकी छैनन्।

'नयाँ पुस्ताहरुसँग काम गर्न नसक्दा र परिवारसँग बस्ने लोभले काठमाडौं बसाइँ छोटो भएको हो,' उनले भनिन्। नेपालमा रहँदा मोटीघाटी नै देखिने निरुता यसपटक निकै स्लिम भएकी छिन्। उनले स्लिम रहनुको रहस्य बताइन्। 'विगत नौ महिनायता स्वास्थमा ध्यान दिइरहेकी छु। निरन्तर व्यायाम गर्ने गरेकी छु,' उनले भनिन्।

उनको काठमाडौं बसाइँ केवल एक हप्ताको हुनेछ। एक हप्तामा उनले कोरियोग्राफर गोविन्द राई र कमल राईसँग नृत्यको अभ्यास गर्नेछिन्। 'यसपटक नयाँ फिल्मबारे सोच्ने समय छैन। नेपाल चलचित्र प्राविधिक संघले अवार्ड कार्यक्रममा प्रस्तुति दिनका लागि बोलाएकोले त्यसकै अभ्यासमा व्यस्त हुनेछु,' उनले भनिन्। यहीबीच उनी पुराना कलाकारहरुसँगको सम्बन्ध नवीकरण गर्ने र नेपाली फिल्मको माहोल बुझेर बिताउन चाहन्छिन्। मलेसियामा हुने छैटौं नेफ्टा अवार्डमा उनले १५ मिनेटको प्रस्तुति दिनेछिन्। 



'दर्पणछाया“', 'आफ्नो मान्छे', 'अजम्बरी नाता', 'नाता रगतको', 'आगो' र 'द गेम' लगायत फिल्ममा अभिनय गरेकी निरुता चाँडै फिल्ममा नयाँ भूमिकामार्फत् फर्कने बताउँछिन्। 'नेपाली फिल्मलाई माया मारेको होइन। केही समय विश्राम लिएकी हुँ,' उनले भनिन्।

नेपाली फिल्मको माहोल फेरिएकोले निर्देशन गर्ने योजनामा उनी गृहकार्य गरिरहेकी छिन्। 'मुम्बईमा केही फिल्ममा सहनिर्देशकको रुपमा काम गर्ने कुराकानी भइरहेको छ। निर्देशकको रुपमा अनुभव लिन सकियो भने नेपाली फिल्म पनि निर्देशन गर्ने इच्छा छ,' उनले भनिन्।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???