Social Icons

Friday, September 27, 2013

चलचित्र 'मौन' र चलचित्र 'बर्बाद'




चलचित्र 'मौन'

निर्देशकः सुरज भुसाल

कलाकारः अर्पण थापा, नम्रता श्रेष्ठ,

संगीतकारः सुगम पोखरेल र स्वप्निल शर्मा

आज शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र 'मौन' लाई नेपालको पहिलो सांकेतिक भाषाको चलचित्रका रूपमा प्रचार गरिएको छ। चलचित्रका मुख्य कलाकार अर्पण थापा तथा नम्रता श्रेष्ठले बोल्न नसक्ने तथा कान सुन्न नसक्ने व्यक्तिको भूमिका निर्वाह गरेका छन्। नायिका नम्रता श्रेष्ठले लामो समयपछि कमब्याक गर्न लागेको यो चलचित्रमा नम्रता र अर्पणको रोमान्स देखाइएको छ। नायक अर्पण थापाकै कथामा निर्माण गरिएको यो चलचित्रका दुई मुख्य पात्र जो बोल्न र सुन्न सक्दैनन्, उनीहरूबीचको आकर्षण तथा प्रेम नै यसको मुख्य कथा हो। यसअछि ब्याच नं. १६ तथा धन्दा जस्ता चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरिसकेका सुरज भुषालले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन्। चलचित्रको कथाअनुसार एउटा अस्वाभाविक दुर्घटनापछि बोल्न र सुन्न नसक्ने अवस्थामा पुगेको युवकको भूमिकामा नायक अर्पण थापा प्रस्तुत भएका छन् भने नम्रताले बोल्नै नसक्ने भूमिका निर्वाह गरेकी छिन्। यो चलचित्र करिब ५५ लाखको लागतमा निर्माण भएको हो। काठमाडौं, ललितपुर तथा भक्ततपुरमा छायांकन गरिएको यो चलचित्रको निर्माण नवीन गुरुङले गरेका हुन्। चलचित्रमा तीनवटा गीत छन्।



चलचित्र 'बर्बाद'

निर्देशक ः रिम विश्वकर्मा

कलाकार ः जिया केसी, जिके शर्मा, गणेश गिरी

संगीतकार ः दीपक शर्मा


सेन्सर बोर्डले अश्लीलताको कारण दर्साउँदै सेन्सर पास गर्न अस्वीकार गरेको चलचित्र 'बर्बाद' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ। करिब ३ मिनेट लामो अश्लील दृश्य सम्पादन गरेपछि मात्र यो चलचित्रले प्रदर्शनको अनुमति पाएको हो। यसअघिका केही चलचित्रमा अत्यन्त अश्लील दृश्यमा अभिनय गरेकी नायिका जिया केसी 'बर्बाद' चलचित्रकी मुख्य आकर्षण हुन्। उनले यो चलचित्रमा पनि खुलेर उत्तेजक दृश्य दिएकी छिन्। सहरिया जीवनशैली र यहाँका विकृतिहरूलाई चलचित्रको मुख्य विषय बनाइएको छ। चलचित्रमा पैसाको मात्र पछि लाग्ने श्रीमान् तथा श्रीमान्को अनुपस्थितिमा घरमा एक्लै बस्ने श्रीमतीबीचको सम्बन्धलाई चित्रण गरिएको छ। श्रीमान्बाट हरेक प्रकारको मायाको आशा गर्ने श्रीमतीले त्यस्तो माया नपाएको अवस्थामा कस्तो परिस्थिति सिर्जना हुन्छ भन्ने यथार्थतालाई चलचित्रले मुख्य विषय बनाएको छ। सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको यो चलचित्रका कतिपय दृश्य अझै पनि अश्लील नै भएको बताइन्छ। एउटा व्यस्त श्रीमान्ले श्रीमतीको चाहनाभन्दा पैसालाई बढी प्राथमिकता दिँदा एउटा सुखी घर-परिवार कसरी बर्बाद हुन्छ भन्ने विषयलाई पनि चलचित्रले उठाएको छ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???