Social Icons

Friday, September 20, 2013

Usha Poudel in Hindi Cinema




साढे तीन वर्षदेखि मुम्बईमा संघर्षरत नायिका उषा पौडेल अब बलिउडको चलचित्रमा देखिने भएकी छिन्। ओस्कार विजेता चलचित्र 'स्लमडग मिलेनियर'मा देखिएका एक अभिनेता अंकुर विकलको जोडीको भूमिकामा उनले भर्खरै छायांकन सकेको चलचित्रको शीर्षक हो- 'सुन लड्की'। चलचित्रमा नायक तथा नायिका नयाँ छन्। उषा पौडेल उक्त चलचित्रकी मुख्य सहअभिनेत्री हुन्। 'मेरो वास्तविक नाम रुक्मणी हो, त्यसैले उता पासपोर्टमा भएको नामबाटै चिनिएकी छु। कसैले रुक्मणी भन्छन्, कसैले रुकु त कसैले रुक्मा।' -उषाले नाम बदल्नु परेको प्रसंग सुनाइन्।

विगत डेढ महिनादेखि काठमाडौंमा छुट्टी मनाइरहेकी रुक्मणी अर्थात् उषाले आज शुक्रबार मुम्बई र्फकनुअघि मंगलबार साप्ताहिकसँग केही अनौपचारिक कुराकानी गरिन्। 'मुम्बईमा साढे तीन वर्ष संघर्ष गरेर अहिले स्थापित हुने क्रममा छु। अहिले दुई महिनाजति कामबाट फुर्सद भएकाले आफ्नो घर फर्किएकी हुँ। यसपटकको मेरो बसाइ नितान्त पारिवारिक र व्यक्तिगत भएकाले मैले फेसबुकमा नेपाल आइसकेको स्ट्याटस मात्र लेखेकी थिएँ। त्यही स्ट्याटस्का कारण केही साथीभाइले कन्ट्याक्ट गर्नुभयो। मैले पनि केही नजिकका साथीहरूलाई भेटेँ। भेटघाटमै बित्यो डेढ महिना।'

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति 'मुनामदन'माथि बनेको चलचित्रमा मुना भएर चर्चामा आएकी उषाले यहाँ चालीसवटा चलचित्रमा नायिका भएर काम गरिन्। यता स्थापित भैसकेकी उषा अनायसै मुम्बई पलायन भइन्। 'मुम्बई पलायन हुने सोच थिएन। हरेक कलाकारको सपनाको मुम्बई फिल्म नगरी, म त्यो नगरीमा भाग्य परीक्षा गर्न गएकी थिएँ।' अहिले उषा यो भाग्य परीक्षामा धेरै हदसम्म अघि बढिसकेको अवस्था छ।

'हरेक दिन फुटबलजस्तो अडिसन दिँदै यता-उता दौडिरहन्थे।' -मुम्बईमा कुनै चिना-परिचयबिना हुत्तिएर पुगेकी उषाले भनिन्- 'स्ट्रगल गरिरहेका तीन जना केटी साथी भेटेँ। उनीहरूसँग सानो रुम लिएर बस्न थालेँ। पेपर एड, टेलि एड आदिमा काम गरेर खाने-बस्ने खर्च जुटाइरहेँ, तर कास्टिङ काउचको बाटो समातिनँ। यदि त्यो बाटो समातेको भए मलाई आफ्नो उद्देश्यमा पुग्न तीन वर्षको लामो समय लाग्दैनथ्यो।' उनले ऋत्विक रोशन अभिनीत 'अग्निपथ'मा ऋत्विककी बहिनीको भूमिकाका लागि अडिसन दिन गएको तर भाषाका कारण छनौट नभएको कुरा सुनाउँदै भनिन्- 'भाषामा समस्या भएपछि म अनुपम खेरको अभिनय स्कुलमा भर्ना भएँ। त्यहाँ अभिनयका साथै हिन्दी भाषा उच्चारणको प्रशिक्षण लिएँ, तर त्यतिले पुगेन। अनि हिन्दी भाषा प्रशिक्षणको विशेष कक्षा लिएँ, जसले मलाई फाइदा पुर्‍यायो।'

अक्षय कुमारले सञ्चालन गरेको रियालिटी शो 'मास्टर सेफ'को प्रोमोसनल उनको करियर अघि बढाउने ढोका बन्यो। त्यसपछि उनले चलचित्र, टेलिसिरियल, विज्ञापन आदिमा काम लगाइदिने एजेन्टहरू भेटिन्। सुरुवातमा उनले धार्मिक टेलिसिरियलहरूमा मुख्य भूमिका पाउँदै गइन्। 'जय जय जय बजरंगबली', 'जय शनीदेव', 'विष्णु पुराण' जस्ता धार्मिक तर महँगो बजेटका श्रृंखलामा उनको व्यस्तता बढ्दै गयो। उनले त्यसपछि 'अदालत', 'चिन्टु चिंकी और एक बढी सी लभस्टोरी'मा पनि मुख्य चरित्र निर्वाह गर्ने अवसर पाइन्। नेपाल आउनुअघि हरर श्रृंखला 'फेयर फाइल्स'मा अभिनय गरिन्। 'तुझसंग पि्रत लगाई सजना'मा उनको कामको निकै प्रशंसा भयो।

'मैले नेपाली चलचित्रलाई चटक्क माया मारेकी छैन, तर तत्काल फर्केर यता आउने मेरो कुनै योजना छैन। बीचमा मलाई अशोक शर्माले एउटा चलचित्रका लागि अफर गर्नुभएको थियो। म त्यतिबेला 'तुझसँग पि्रत लगाई सजना'को टाइट सेड्युलमा थिएँ। कुनै बेला मुम्बईमा पनि फुर्सद हुन्छ, त्यतिबेला यताको काम पाइयो भने गर्न पनि सकिन्छ,' -उषाले नेपाली चलचित्रप्रतिको लगावलाई व्यक्त गरिन्। समकालीन रेखा थापा, ऋचा घिमिरे, झरना थापा, अरुणिमा लम्साल, सञ्चिता लुइँटेलहरूले विवाह गरिसकेको र कतिपयले फिल्म लाइन नै छोडिसकेको अवस्थामा उषा भने अहिलेसम्म अविवाहित नै छिन्। विवाह र प्रेमका बारेमा उषाले भनिन्- 'प्रेम गर्ने समय छैन, विवाह हुन्छ कि हुँदैन थाहा छैन।'

हिन्दी चलचित्र 'सुन लड्की'मा काम गरिसकेपछि त्यसबाट आउने रेस्पोन्सले उनको बलिउड करियर निर्धारण गर्नेछ। तैपनि उषा हिन्दी श्रृंखलाहरूमा भने लगभग स्थापित भैसकेकी छिन्। 'हेर्दै जानु कुनै दिन मैले गोल हान्नेछु,' छुट्टनिे बेलामा उषाले हाँस्दै भनिन्।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???