फिल्ममा हिट नभए नि फेसबुकमा हिट रहिछिन्, नम्रता श्रेष्ठ। फेसबुक
प्रयोगकर्ताबीच उनी नम्बर एक हिरोइनमै रहिछिन् त। नम्रताको फ्यान पेज
'लाइक' गर्नेहरूको संख्या १ लाख ७१ हजार छ। दोस्रोमा छिन्, पूर्वमिस नेपाल
माल्भिका सुब्बा। नम्रता र माल्भिकाबीच २ हजार ४ सयको अन्तर छ। हिट भनिएकी
रेखा थापा ५५ हजार लाइकसहित तेस्रो स्थानमा र नौ हजार लाइकसहित चौथो
स्थानमा पि्रयंका कार्की छिन्। सगरमाथाको चुचुरो उक्लेकी निशा फेसबुकमा भने
फेदतिरै छिन्। उनको फ्यान पेज लाइक गर्नेहरूको संख्या भर्खरै पाँच हजार
पुगेको रहेछ।
हिरोइनहरूमा
बलिउडकी करिना कपुरझैँ जिरो फिगर बनाउने होडबाजी चलेका बेला ऋचा शर्मा भने
करिना होइन, करिमापथमा हिँड्ने भएकी छन्। थप्पड काण्डबाट चर्चामा आएकी
पूर्वमन्त्री करिमा बेगमको रूप लिएर उनी एउटा फिल्ममा देखिने छिन्।
दासढुंगा बनाएका अपिल विष्टले बनाउने फिल्म प्रतापमा उनलाई त्यस्तो भूमिका
दिइएको छ। अनुप बराल र दयाहाङ राईको पनि अभिनय रहने उक्त फिल्ममा एउटी
महिला सभासद्को जीवन उतारिँदै छ। अब क-कसलाई चड्काउने हुन् ऋचाले !