Social Icons

Friday, August 2, 2013

नेपाली मूलकी नायिका प्रतिमा रसाइली

 


एक दर्जन भारतीय चलचित्रमा अभिनय गरिसकेकी नेपाली मूलकी नायिका प्रतिमा रसाइली यतिबेला काठमाडौंमा छिन् । तुलसी घिमिरेको पछिल्लो नेपाली चलचित्र 'दृष्टिकोण' मा समेत अभिनय गरेकी प्रतिमा नेपाली चलचित्रलाई नजिकबाट नियाल्न, चलचित्रकर्मीहरूसँग भेट्न तथा फोटोसेसन गराउन करिब एक साताका लागि काठमाडौं आएको बताउँछिन् । भोजपुरी, बंगाली, साध्री, राजवंशी तथा नेपालीसहित १३ भाषाका चलचित्रमा अभिनय गरिसकेकी २१ वर्षीया प्रतिमा ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठको निम्तोमा काठमाडौं आएकी हुन् । 

 
पुख्र्यौली घर दार्जीलिङ भएकी प्रतिमा सन् २००९ देखि अभिनय क्षेत्रमा सक्रिय छिन् । करिब पाँच वर्षअघि सिलिगुडीबाट अभिनय गर्ने लक्ष्यसहित कलकत्ता पुगेपछि उनले त्यहाँ फोटोसेसन गर्दै संघर्ष प्रारम्भ गरिन् । कत्थक नृत्यमा विशारद हासिल गरेर कुशल नृत्यांगनाका रूपमा समेत परिचय बनाएकी प्रतिमाले कलकत्तामै छँदा केही म्युजिक भिडियोमा समेत अभिनय गरिन् । त्यस क्रममा उनलाई नेपाली चलचित्रका नृत्य निर्देशक कमल राईले पवन चाम्लिङको एउटा नेपाली गीतको म्युजिक भिडियोमा पनि अभिनय गराए । राईले नै प्रतिमालाई सन् २००९ मा नेपाली चलचित्र 'जीवनगाथा' मा नायिकाका रूपमा डेब्यु गराए । त्यसपछि प्रतिमासमक्ष भारतका क्षेत्रीय भाषामा चलचित्र निर्माण गर्ने निर्माता-निर्देशकले अभिनयका लागि प्रस्ताव राखे ।






गत मंगलबार बिहान बागबजारमा साप्ताहिक संवाददातासँगको भेटमा प्रतिमाले भनिन्— 'मैले २००९ मै लगातार पाँचवटा भारतीय चलचित्रमा अभिनय गरेँ । बंगाली, भोजपुरी, साध्री आदि भाषामा निर्माण गरिएका ती चलचित्रमार्फत मलाई ती क्षेत्रका दर्शकले नायिकाका रूपमा चिनेका छन् ।' ५ फिट ४ इन्च अग्ली प्रतिमाले त्यसक्रममा निर्माण भएका विभिन्न चलचित्रमध्ये बंगाली भाषाको भालो बासो, टिकम शर्माको 'साथी तोर प्यारमे', 'देसी बाबू', 'अभागिन' जस्ता चलचित्रबाट लोकपि्रयता हासिल गरिन् । ती चलचित्रमा अभिनय गर्ने क्रममा उनलाई निर्माता-निर्देशकहरूले बलिउडमा गएर संघर्ष गर्न पनि सुझाएका थिए, तर उनी बलिउडमा गएर हिन्दी चलचित्रमा स्थापित हुन संघर्ष गर्नुभन्दा काठमाडौंमा बसेर नेपाली चलचित्रका लागि संघर्ष गर्ने निर्णयमा पुगिन् । प्रतिमा भन्छिन्— '१० वटा हिन्दी चलचित्रमा अभिनय गरेर चर्चित हुनुभन्दा एउटा राम्रो नेपाली चलचित्रमा अभिनय गर्न पाए मलाई आत्मसन्तुष्टि मिल्छ ।' 



भारतमा जन्मिएर उतैको नागरिक भए पनि म नेपालीभाषी हुँ, नेपाल मेरो मनमा छ, म नेपालीमूलकी भारतीय हुँ,' प्रतिमा भन्छिन्— 'निर्देशक तुलसी घिमिरेको चलचित्र 'दृष्टिकोण' मा अभिनय गनुर्को कारण पनि त्यही नै हो ।' कत्थक नृत्यमा औपचारिक शिक्षा लिए पनि प्रतिमा प्रायः सबै विधा नृत्यमा पारंगत छिन् । सन् २००७ मा सिलिगुडीमा सम्पन्न लेक्मी बेस्ट हेयर कन्टेष्टमा विजयी भैसकेकी प्रतिमाले सन् २००८ मा सम्पन्न 'मिस बंगाल' मा समेत बेस्ट स्माइलको उपाधि जितेकी थिइन् ।

सिलिगुडीलगायत पश्चिम बंगाल, आसाम, मिजोरम आदि क्षेत्रका दर्शकमाझ स्थापित नायिकाको छवि बनाइसकेकी प्रतिमा चलचित्र 'दृष्टिकोण' को अभिनयबाट सन्तुष्ट छिन् । 'दृष्टिकोणमा सेकेन्ड लिड रोलमा प्रस्तुत भएकी छु,' प्रतिमा भन्छिन्— 'भारतमा निर्माण भएका अधिकांश चलचित्रमा म साधारण युवतीको भूमिकामा प्रस्तुत भैरहेकी थिएँ, दृष्टिकोणमा भने पहिलो पटक बार डान्सरको बोल्ड भूमिकामा छु ।'
 

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???