Social Icons

Saturday, October 12, 2013

दसैंको खानपिनले तपाईंको स्वास्थ्यमा परेको उल्लेखनीय असर के हो ?


३ वर्षअघि खसीको मासु मज्जाले खाइयो, लगत्तै पखाला चल्न थाल्यो, औषधि नखाइ भएन, औषधि खाएपछि मासु बार्नुपर्ने, त्यो दसैं अरूले मासु खाए मैले औषधि खाएर बिताउनुपर्‍यो।

   - दीपक गौतम, गायक

बास भयो ट्वाइलेटछेउको पालमा, यो घटना घट्यो २०५८ सालमा। शौचालय थियो गहिरो, पेटमा आयो बाढी-पहिरो, शौच गर्न जानुपर्‍यो बारम्बार, दोहोरियो यही काण्ड लगातार, पातलो दिसा लाग्यो तारन्तार, त्यसपछि बुझें गलत भएछ आहारबिहार, अचेल खाने बेलामा सचेत छु।

   - अर्जुन केआर संग्रौला, आरजे/कलाकार

बैंसमा त ढुंगा पनि चपाइएको र पचाइएको हो। छरछिमेक, साथीभाइ, काकाबाउ, मावली, आफन्त जता गयो उतै रेडमिट र खल्पी खाइएकै हो, अबचाहिँ शरीरले पनि सन्तुलित आहार खोज्न थालेजस्तो लाग्न थालेको छ।

   - नारद खतिवडा, हास्यकलाकार

चार वर्षअघि खानपिन र बाइक हकाइले पाँच-सात दिन लगातार बिरामी भइयो। घर गइएको थियो, शुद्ध दही, घिउ र रोटी खाइयो। त्रिवेणीमा पुगेर माछा पनि लडाइयो, त्यसपछि यसरी थला परियो कि उठ्न निकै दिन लाग्यो।

   - हेमन्त शर्मा, गायक

दसैंको खानपिनले राम्रो असर पर्ला जस्तो लाग्दैन है मलाई त।

   - गौरव पहारी, नायक

एकपटक दसैंमा राँगाको मासु खानुपर्‍यो। त्यो घटना बिर्सनलायक छ। यति नमज्जाले वान्ता भयो कि सम्झन पनि सक्दिनँ।

   - मञ्जु महत, गायिका

दसैंको खाना स्वादिलो हुन्छ तर स्वस्थकर हुँदैन, ग्यास्ट्रिक, कन्सिटपेसन अनि ओभरवेट।

   - बाबुराम दाहाल, गीतकार

खानपिनले गर्दा मोटाइन्छ, जता जाँदा पनि खानैपर्ने बाध्यता, नखाँदा पनि ठूलो मान्छे भयो भनेर बात लाग्छ, मोटोपनकै टेन्सन हुन्छ।

   - सुमित खड्का, गायक

प्रोटिन बढी हुनाले दसैंमा गर्लफ्रेन्डलाई जतिबेला पनि साथमै राखौं, नछोडौं जस्तो लाग्छ।

   - उकेश दाहाल, निर्देशक

चिल्लो र फ्याटले विशेषगरी पेट गडबड हुन्छ दीर्घकालीन समस्या चाहिँ फ्याट, युरिक एसिड आदि बढ्ने हो, जसको परिणामले योपालिको दसैंमा केही खान देलाजस्तो छैन।

   - केपी पाठक, निर्देशक

दसैं भनेर धेरै खाँदिनँ, मेरो डाइट रुटिनमा गडबड हुन्छ। आमाले बनाएको खसीको पक्कु लाखौंमा एक हुन्छ, त्यसैले पक्कुचाहिँ खानैपर्छ। ब्यालेन्स खाना खाने भएकाले हुनसक्छ, मेरो स्वास्थ्यमा त्यति असर परेको छैन्।

   - निल डेभिड कटवाल, हेयरस्टाइलिस्ट

मोटाउनुका साथसाथै शरिरको तौल बढेर भद्दा भएको अनुभूति हुन्छ, दसैंको खानपान थेग्न गाह्रो हुन्छ।

   - गोविन्द शाही, नायक/निर्माता

शारीरिक अभ्यासभन्दा खाना टन्न मेरो त, ५ किलो तौल बढेर हिँड्न पनि गाह्रो हुने भएछ, त्यसकारण यसपटक अलि कम खान्छु, बिहान-बिहान रनिङ गर्छु। दसैंमा त खानपिनले गारै पार्छ।

   - सुशील पोखरेल, कलाकार/निर्माता

खाना त जताततै, मासु-मासु मात्र, नखाई धर पाइन्न। प्रेसर र वेट बढेर हैरान। खानपिनले पुर्‍याएको नकारात्मक असरका बारेमा चाहिँ नबोलौं, गोप्य नै राखौं। ट्राफिकले उल्टो खेदो गर्छन् फेरि।

   - भीषण मुकारुङ, गायक

दसैंमा २-३ किलो तौल बढ्ने निश्चित हो। दसैंको खानपानले टे्रनिङ गर्न अलि पावर बढ्छ। मेहनत गर्नुपर्छ शरिर घटाउन।

   - दीपक विष्ट, खेलाडी

असरको त कुरै नगरौं, यस विषयमा मैले एउटा पुस्तक नै निकालेको छु।

   - धीरज तन्डुकार, इभेन्ट म्यानेजर/कोरियोग्राफर

खातापिता मोटाको जमाना रहेन अब, त्यसैले धेरैभन्दा कम खानमै हित छ, तर दसैंको बिदामा आराम र त्यसमाथिको खानाले मोटाइने निश्चित छ, खाना कन्ट्रोल गर्न नसक्दाको क्षण सम्झन पनि मन लाग्दैन।

   - निता ढुंगाना, नायिका

दसैं-तिहारमा खाइने मासुमा चिल्लो बढी हुन्छ, त्यसले पेट दुख्छ र डायरिया हुन्छ, त्यसैले सकेसम्म खानेकुरामा होसियार हुन थालेकी छु।

   - निशा सुनार, गायिका

बोसो भएको मासु र रक्सीले कोलस्ट्रोल र प्रेसर बढाएर हैरान हुन्छ नि ।

   - सुरेन्द्र केसी, मुलासाग

म खाना विशेष तरिकाले लिन्छु किनभने सन्तुलित रूपमा खाना खाँदा आउने मज्जा छुट्टै छ।

   - राजु सिंह, संगीतकार

मासु खान्नभन्दा पनि खानुपर्ने बाध्यता आइपर्छ दसैंमा। असरको त कुरै नगरौं।

   - शुभेच्छा थापा, नायिका

कुनै समय रक्सी र मासुले ह्यांग भएको सम्झना छ तर अहिले मासु र रक्सी दुवै छोडेको पनि १० महिना नाघिसक्यो, त्यसकारण यसपटक खासै असर नपर्ला।

   - राज तिमल्सिना, नायक

म भेज भएका कारण त्यस्तो असर पर्ने गरेर केही खादिनँ, त्यही भएर पनि उल्लेखनिय असर थाहा नभएको हो।

   - शोभिता सिम्खडा, नायिका

विशेष त दसैंको नौरथा लागेपछि नै चहल पहल सुरु हुन्छ, दसैंको बेला घरमा विशेश गरेर खानपानमा व्यस्त हुने भएकाले शारिरिक अभ्यास पनि गर्न पाइँदैन। बसेर खाने काम मात्र हुँदा गाह्रो हुन्छ, तर अहिलेसम्म स्वास्थ्यमा असर नै परेर अस्पताल पुग्नुपरेको छैन्।

   - बिपिन किरण, गीतकार

अहिले म अमेरिकामा छु, यहाँ त खोइ खासै दसैंनै हुँदो रहेनछ, खै खानपानको असरको के कुरा गर्नु ?

   - कृष्ण धारावासी, साहित्यकार

दसैं भन्ने वित्तिकै परिवारका सबै सदस्य बसेर मिठो-मिठो खाने कुरा आउँछ, हामी चाहिनेभन्दा धेरै खान्छौं, चिल्लो-पिरो, मासु-माछा, रक्सी धेरै खान्छौं। पेट टन्न हुन्छ, ढुस्स हुन्छ, बिग्रन्छ अनि मोटाइन्छ पनि, खाना खान मन नभए पनि जबरजस्ती धेरै खानुपर्छ, टेन्सन हुन्छ, अपच भएर हाजमोला खानुपर्ने बाध्यता आइलाग्छ।

   - शुभेच्छा भडेल, फेसन डिजाइनर

दसैंको खानामा अलि बढी नै चिल्लो पिरो हुने भएकाले छिट्टै जिउ लाग्छ मोटोपन बढ्छ, नायिकालाई ज्यान बढ्दा पिर त पर्ने नै भयो।

   - ऋचा शर्मा, नायिका

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???