Social Icons

Friday, October 4, 2013

Dashain and चङ्गा चेट ःउहिले र अहिले


दसैंमा चङ्गा उडाएर रमाइलो गर्ने परम्परा पुरानै हो। नेपालभरि नै चङ्गा उडाएर धूमधामका साथ दसैंकोस्वागत गरिन्छ। पहिले-पहिले नेपाली कागजबाट बनेको हाते चङ्गा उडाइथ्यो। त्यसरी चङ्गा उडाउनेहरू पनि सीमित हुन्थे। हिजोआज चङ्गा उडाउने क्रेज बढेको छ। खुला चौर, कौशी तथा घरको छतमा उभिएर चङ्गाको मज्जा लिनेहरू बढ्दै गएका छन्। कतिपय पाकालाई उहिले चङ्गामा रमाएको सम्झना ताजा छ। गठ्ठाघर, भक्तपुरका ६३ वर्षीय रामप्रसाद सत्याल भन्छन्- 'चङ्गा उडाउन अहिले जस्तो स्वतन्त्रता थिएन, केही पौराणिक मान्यताको ख्याल गर्नुपथ्र्यो। चाडबाड आइसक्दा पनि खेतमा धान पहेंलो नभएसम्म चङ्गा उडाउन पाइँदैनथ्यो।' सत्याल भन्छन्- तर पनि त्यतिबेला आफैंले बनाएको चङ्गा उडाएर खुब रमाइलो गरिन्थ्यो।

सत्यालले सुनेको किंवदन्तीअनुसार कुनैबेला नेपालबाट उडाएको चङ्गा तिब्बतको केरुङसम्म पुग्थ्यो। केरुङमा बसेका गोर्खाली सेनालाई गोप्य सूचना प्रवाह गर्न चङ्गामा सन्देश लेखेर पठाइथ्यो। नेपालबाट उडाएको चङ्गा हिमालपार भएपछि केरुङ पुग्ने विश्वास गरिन्थ्यो। सञ्चारको विकास नभएका कारण चङ्गाको माध्यमले सूचना आदान-प्रदान गरिन्थ्यो। उतिबेला बाँसका पातला सुइरामा नेपाली कागज टाँसेर चङ्गा बनाइन्थ्यो। नेपाली कागजमा सुचना लेख्न पनि सजिलो हुन्थ्यो।

काठमाडौं, क्षेत्रपाटीका ७३ वर्षीया केशव ज्ञवालीसँग ६० वर्ष पहिले चङ्गा उडाएको अनुभव छ। 'राजधानीमा यतिविघ्न घर थिएनन्, खुला चौरहरू प्रशस्त थिए, हामी चौरमा बसेर चङ्गाको मज्जा लिन्थ्यौं, साथी-साथीबीच चङ्गा चेट प्रतिस्पर्धा नै चल्थ्यो। त्यतिबेला दुईदेखि पाँच पैसामा पाइने चङ्गा नेपाली कागजले बनेका हुन्थे। कतिपय आफैं बनाउँथ्यौं र उडाउँथ्यौं। कति दिन त स्कुल पनि छाडेर चङ्गामै रमाउथ्यौं,' ज्ञवालीले बताए।

उहिले भन्दा अहिले चङ्गा उडाउने चलन बढी छ। अहिले दसैंका अवसरमा चङ्गा उडाउने प्रतियोगिता नै हुन्छ। कतिपय संचारमाध्यमले यसको प्रवर्द्धनका लागि प्रतियोगिता आयोजित गर्छन्। शरद ऋतुको प्रारम्भमा पश्चिमबाट सरर हावा चल्ने हुँदा यो मौसम चङ्गा उडाउनका लागि उपयुक्त हुन्छ। हिजोआज चीन तथा भारतबाट भित्रिएका प्लास्टिकका चङ्गा प्रयोग गरिन्छ। हाते कागजको चङ्गा दुर्लभ भएको छ। दसैंको आगमनसँगै घरका बार्दली, कौशी, छत तथा खुल्ला चौरहरूमा चङ्गा उडाउन बालबालिकादेखि पाकासम्मको घुइँचो लाग्छ।

नेपालमा चंगा

हाल नेपालमा दक्षिण पूर्वी एसियामा उत्पत्ति भएको चारपाटे चङ्गा नै उडाइन्छ। यसलाई लडाकु चङ्गाका रूपमा लिइन्छ। यसले धागोको चालअनुसार तुरुन्तै प्रतिक्रिया दिन्छ। यो चङ्गा कम उचाइमा जोसिलो तरिकाले उड्छ। छरितो र तेजिलो बनाउन यसमा पुच्छर हाल्ने चलन छ, जसले गर्दा हावामा सन्तुलन कायम रहन्छ। हिजोआज नेपालमा भारतको लखनउलगायतका सहरबाट चङ्गा आउँछन्। नेपालमा चङ्गा जापान तथा चीनबाट भित्रिएको भए पनि यो कहिलेदेखि प्रचलनमा आयो भन्ने ठोस प्रमाण भने फेला पर्दैन।

चंगाको उत्पत्ति

चङ्गाको उत्पति कहाँ र कहिले भयो भन्ने वास्तविक तथ्यांक उपलब्ध छैन। १३ औं शताब्दीमा रोजर बेकन नामक अंग्रेज भिक्षुले पानीले जहाज थामेझैं हावाले पनि हवाईजहाज थाम्न सक्छ भन्ने कुरा चङ्गामार्फत पुष्टि गरेका थिए। पछि आएर १६ औं शताब्दीमा लियोनार्दो द भिन्चीले चराको पखेटा र चङ्गाको आधारमै विमानको परिकल्पना गरेको कुरा विभिन्न पुस्तकमा पढ्न पाइन्छ। कतिपय पुस्तकमा चङ्गाको उत्पत्ति छैटौं शताब्दीतिर भएको कुरा उल्लेख छ। चङ्गालाई इजिप्ट र एसियाका मानिसहरूले महत्वपूर्ण शक्ति मान्थे। त्यतिबेला चङ्गाले भूतप्रेत भगाउने, स्वर्गसँग सम्पर्क गराउने र पानी पार्ने विश्वास गरिन्थ्यो। कालान्तरमा चङ्गा मध्ययुगीन व्यापारिक मार्ग रेसम मार्गबाट पर्सिया र टर्की हुँदै युरोप पुगेको र मनोरञ्जनका रूपमा विकास हुँदै गएको मानिन्छ। चीनलाई चङ्गाको आविष्कारक मानिन्छ। सन् ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङग सु-वानले काठ र बाँसको चरा आकारको चङ्गा बनाएर तीन दिनसम्म आकाशमा उडाएको कुरा उल्लेख छ। उक्त पुस्तक अनुसार गोङग सु-वानको वास्तविक नाम 'लु वान' थियो। चु राज्य र सोङ राज्यबीच सन् ४४४ मा भएको युद्धमा लु वानले जासुसी गर्न चङ्गा निर्माण गरेका थिए। त्यही समयदेखि जासुसी काममा चङ्गाको प्रयोग प्रारम्भ भएको मानिन्छ।

कसरी उड्छ चंगा

चङ्गा 'एरोडाइनामिक्स' को सिद्धान्तअनुसार हावामा उड्छ। यो सिद्धान्त 'फ्लुड मेकानिक्स' अन्तर्गत पर्छ। यो सिद्धान्तले बहेको हावा र त्यसबाट उत्पन्न हुने चाल र शक्तिको अध्ययन गर्छ। यसमा न्युटनको तेस्रो सिद्धान्तले भूमिका खेल्छ। चङ्गालाई हावामा छोड्दा यसमाथि एक्कासि हावा दर्गुन थाल्छ। यस्तो अवस्थामा चङ्गामा बाँधिएको धागो, त्यसको आकार र हावाको प्रतिक्रियाका कारण सन्तुलित भएर चङ्गा हावामा अडिन्छ र उचाइ लिन थाल्छ। धागो तान्दा चङ्गा माथि-माथि जानुको कारण के हो भने त्यतिबेला यसको भर्टिकल चाप भन्दा धागोमा लगाइएको शक्ति बढी हुन्छ र माथिको चाप छिचोल्दै जाने क्रममा तलपट्टकिो हावाको चापले पनि चङ्गालाई माथि ठेल्न सहयोग गर्छ। उक्त अवस्थामा चङ्गाको छातीमा परिरहेको हावाको एकै प्रकारको चापले चङ्गालाई सुल्टो राखिरहेको हुन्छ। चङ्गामा लगाइएको पुच्छरले चाहिं तेजिलो बनाउन मद्दत गर्छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली चंगा

नेपालमा चङ्गा चेट गर्ने चलन प्रतियोगिताका रूपमा विकास भएको एकदशक पनि बितेको छैन। दसैं-तिहारको मौसममा बर्सेनि चङ्गा चेट प्रतियोगिता आयोजित हुन्छ। अन्तर्राष्ट्रिय स्तरका चङ्गा प्रतियोगितामा पनि नेपाली टिमले सहभागिता जनाइसकेको छ। केही वर्ष अघि प|mान्सको डिएपमा पुगेर चङ्गा उडाउने प्रतियोगिताको विश्वकपमा निर्मलकुमार तुलाधर, रमेश श्रेष्ठ सहभागी भएका थिए। त्यहाँ लोक्ताबाट निर्मित नेपाली कागजबाट बनेको चङ्गाले घुम्ने, फाल हान्ने र उड्ने कलामा उत्कृट प्रदर्शन गरेको थियो। त्यतिबेला नेपाली कागजबाट निर्मित लडाकु चङ्गाले आफ्नो पहिचान नै स्थापित गरेको थियो। सन् २००५ मा कोरियामा पनि नेपालीहरूले अन्तर्राष्ट्रिय चङ्गा उडान प्रतियोगितामा सहभागी जनाएका थिए।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???